Friday, January 14, 2011

चार चलचित्रको सम्पादन समाप्त

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष ३०, शुक्रवार


काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र 'मालतीको भट्टी' को सम्पादन सकिएको छ । प्रदिप उदयको निर्माणमा गणेश देव पन्तले निर्देशन गरेको सो चलचित्रमा रेखा थापा, जीवन लुइँटेल, नन्दिता केसी, अयुव केसी, सुनील थापालगायतको अभिनय रहेको छ । चलचित्रको शिर्षक अनुसार भट्टीवाली मालतीको भूमिकामा नायिका रेखा थापाले अभिनय गरेकी छिन् ।

चलचित्रमा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, रेनाशा राईको नृत्यनिर्देशन तथा कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ । गएको भदौ २८ गते गोर्खा हस्पिटलबाट सुरू गरिएको चलचित्र 'मालतीको भट्टी' को कार्त्तिक १०  गते इन्डक्ल्याप गरिएको थियो । गंगा पौडेल र गोपाल पाण्डे निर्माता रहेको सो चलचित्र आगामी चैत्र २५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने करिब पक्का भएको निर्माता प्रदिप उदयले जानकारी दिए ।

यसैगरी सुरेशदर्पण पोखरेलले निर्देशन गरेको बिग प्रोजेक्टको चलचित्र 'मिस यू' र रमेशजंग रायमाझीको निर्माणमा भद्र भुजेलले निर्देशन गरेको चलचित्र 'मलाई मन पर्‍यो' को सम्पादन सकिएको छ । हुनत यि दुबै चलचित्रको केहि भागको छायाँकन गर्न बाँकी नै छ र पनि छायाँकन भएको सिनको सम्पादन सकिएको निर्माण युनिटले जनाएको छ । चलचित्र 'मिस यू' को केहि सिनको छायाँकन केहि दिनमा शुरू गरिने भएको छ भने चलचित्र 'मलाई मन पर्‍यो' को बाँकी तीन गीतको छायाँकन पनि केहि दिनमा शुरू गरिने भएको छ ।
 
नायक दिलिप रायमाझीले निर्माण गरेको चलचित्र 'मिस यू'मा दिलिपको साथमा नम्रता श्रेष्ठ र बरूण राणाको मुख्य भुमिका रहेको छ भने चलचित्रमा बाबु बोगटी र डिजे तान्त्रिकको संगीत सुन्न सकिने छ । यसैगरी भद्र भुजेलले पहिलो पटक निर्देशन गरेको चलचित्र 'मलाई मन पर्‍यो' मा जीवन लुईटेल, राजबल्लभ कोईराला र निरूता सिंहको मुख्य भुमिका रहेको छ भने चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ ।

यता द्वन्दनिर्देशक एनबी महर्जनले पहिलो पटक निर्देशन गरेको चलचित्र 'बजार' को सम्पादन गत बिहिबार सकिएको छ । नायक अर्जुन कार्कीले निर्माण गरेको सो चलचित्रमा अर्जुनको साथमा राजेश हमाल, अरूणिमा लम्साल, जयकिशन बस्नेतले मुख्य भुमिका निर्वाह गरेका छन् । ब्रजेश खनालको कथा रहेको सो चलचित्रमा महानायक हमाल चर्चित पुलिस अफिसर रमेश खरेलको चरित्रमा देखिँदैछन्।

No comments:

Post a Comment