Friday, January 28, 2011

शुभेच्छाको बैंशलाई महानायकले किन्ने

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ १४, शुक्रवार

नेपाली चलचित्रको इतिहासमा पहिलो पटक प्रयोग गरिन लागेको अरबी नृत्य 'बेली डान्स' मा महानायक राजेश हमाल नायिका शुभेच्छा थापासँग बेली डान्स गर्ने भएका छन् । 'मेरो बैंशको चर्चा' बोलको गीतमा नायिका शुभेच्छाले बेली नृत्य प्रस्तुत गर्नेछिन् भने उनलाई महानायकले साथ दिनेछन् र गीत अनुसार उनले शुभेच्छाको बैंशलाई समेत किन्ने छन् ।

बि एण्ड बि इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको कमेडी चलचित्र 'हात लाग्यो शून्य' मा निर्देशक बिजय बिक्रम बस्नेतले महानायकलाई नचाउने छन् । पाश्चात्य मुलुकमा निकै लोकप्रिय बनेको बेली डान्सलाई करियोग्राफर समेत रहेका निर्देशक बस्नेतले नेपाली चलचित्रमा पनि भित्र्याउने कोसिस गर्दैछन् । दयाराम पाण्डेको सो गीतमा बिकाश चौधरीले संगीत भरेका छन् । माघ १६ गतेबाट छायाँकन शुरू गरिन लागेको चलचित्र 'हात लाग्यो शून्य' को सो बेली डान्सको छायाँकन भने दुई हप्ता भित्रमाकाठमाण्डौमा गरिंदै छ ।


बेली डान्स भन्नाले बिशेष गरी पेट र हिप हल्लाएर नृत्य गर्नु भन्ने बुझिन्छ । गायिका साकिराले केहि महिना अगाडी मात्र सकिएको बिश्वकपमा 'वाका वाका' बोलको गीतमा यस्तो नृत्य  प्रस्तुत गरेकी थिईन् र जुन गीत र नृत्य निकै चर्चित समेत बनेको थियो । जसरी 'वाका वाका' गीत र साकिराको डान्स हिट भयो त्यसैगरी नै नाच्न निकै कमजोर मानिएका महानायक र आईटम डान्समा अगाडी रहेकी नायिका शुभेच्छालाई नचाएर निर्देशक बस्नेतले चर्चा कमाउने शुर कसेका छन् । निर्देशक बस्नेत भन्छन्, 'महानायकलाई यस्तो गीतमा नचाउनु मेरो लागी कठिन छ र पनि म उहाँलाई मज्जाले नचाउन सक्छु । मात्र अब मलाई राजेश दाईले साथ दिनु पर्छ ।'

बिश्व नेपालले निर्माण गर्न लागेको सो चलचित्रमा महानायक मधेशी कन्जुस पात्रको भुमिकामा प्रस्तुत हुँदैछन् । चलचित्रमा उनको गेटअपलाई निर्देशक बस्नेतले एक्सक्लुसिभ रूपमा फिल्मीखबर डटकम मार्फत सार्वजनिक गर्ने बताएका  छन् । चलचित्रमा महानायकको साथमा कल्पना शाही, सुसिल पोखरेल, किरण केसी, शिव आचार्य, बबिर पराजुली, अनिल सिलवाल, गोपाल ढकाल 'छन्दे' लगायतले अभिनय गर्दैछन् ।

No comments:

Post a Comment