Tuesday, November 30, 2010

कलाकारको साथमा बाटोमुनिको फूल


कृष्ण न्यौपाने, दमौली , २०६७ म‌ंसिर १५, बुधवार

दर्शकहरुले आज बुधबार कलाकारको साथमा 'बाटो मुनिको फूल' हेर्न पाउने भएका छन् । 'बाटो मुनिको फूल' का निर्देशक सुरज सुब्बा 'नाल्बो', निर्माता राजेश घतानी, नायकद्वय बाबु बोगटी, यश कुमार, नायिका नन्दिता केसी लगायतका कलाकारहरु आज दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा आउने भएका छन् ।

मंसिर १० गतेबाट देशभरबाट प्रदर्शनमा आएको चलचित्रको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न कलाकारको टोली चलचित्र प्रदर्शन भइरहेको हलहरुमा पुग्ने गरेका छन् । उत्तरशीला चलचित्र मन्दिरका व्यवस्थापक प्रमोद पाण्डेका अनुसार कलाकारको टोली मंगलबार राति नै दमौली आइसकेको छ । उनका अनुसार कलाकारको टोलीले बुधबारको १२ बजेको शो दर्शकसँग बसेर चलचित्र हेर्नेछन् । दमौलीमा चलचित्र प्रदर्शन भएयता दर्शकको घुइँचो लागेको पाण्डेले बताए ।

प्रेमकथा तथा सामाजिक भेदभावका विषयमा आधारित भएर निर्माण गरिएको चलचित्र 'बाटो मुनिको फूल' मा दुई गायक यश कुमार र बाबु बोगटीले नायक भएर अभिनय गरेका छन् । यश कुमारकै कथा, शब्द र संगीतमा बनेको चलचित्रमा राजेश हमाल, रेखा थापा, नन्दिता केसी, गणेश उप्रेती लगायतको अभिनय रहेको छ । चलचित्रमा जातीय विभेदका घटनालाई प्राथमिकता साथ प्रस्तुत गरिएको छ ।

No comments:

Post a Comment