Wednesday, December 22, 2010

तेस्रो निर्माता संघ खोल्ने चेतावनी

Source:फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष ७, बुधवार

चलचित्र निर्माता संघ दुई भागमा बिभाजित हुन लागेको कुरालाई मंगलबार फिल्मीखबरले एक्स्क्लुसिभ रुपमा समाचार प्रस्तुत गरेको थियो । सो समाचारले अहिले नेपाली चलचित्र जगतमा निकै हलचल ल्याएको छ ।

मंगलबार नेपाल चलचित्र निर्माता संघसँग असन्तुष्ट निर्माताहरुको एक समुहले नयाँ निर्माता संघ खोल्ने निर्णय गरेपछि निर्माता संघका एक सक्रिय सदस्य जयप्रकाश रिजालले पनि तेस्रो निर्माता संघ खोल्ने चेतावनी दिएका छन् । निर्माता संघ अर्न्तगतकै अर्न्तसंघ संस्था समन्वय समितिका सभापति समेत रहेका रिजालले नेपालको कानुनले संघसंस्था खोल्न सहज बनाईदिएकोले यसरी हावादारीमा संघसंस्था खोल्ने गरेको बताउँछन् ।
 
दोस्रो निर्माता संघ खुल्ने तयारी भएको थाहा पाएपछी क्रोधित मुद्रामा देखिएका रिजालले यसरी हरेक निर्माताहरू एक अर्काका दुस्मन हुँदै जाने हो भने भोलिका दिनमा दर्जनौं निर्माता संघ खुल्न सक्ने बताए । उनले भने, ' हामी एक अर्काको बिरोधी भएर हैन मिलेर राम्रो काम गर्नु पर्छ ।' लामो समय देखि काठमाण्डौमा नेपाली चलचित्रको डिस्ट्रिव्युसन गर्दै आएका अर्का निर्माता सुनिल मानन्धरले पनि नयाँ निर्माता संघ खोल्न लागेका व्यक्तिहरूलाई लक्षित गर्दै व्यङ्ग्य पारामा भने, 'अर्को निर्माता संघ खुल्छ भने म पनि मेरो स्टाफलाई अध्यक्ष बनाएर नयाँ निर्माता संघ खोल्छु ।'

आफूहरूको यो निर्णय एउटा चेतावनी मात्र भएको निर्माताद्वय रिजाल र मानन्धरले बताए । यि दुई निर्माताको भनाईमा संघ फुटेर हैन जुटेर अगाडी बढ्नु पर्छ भन्ने रहेको छ । नेपाली चलचित्रको बजार दिन प्रतिदिन बिग्रदों अवस्थामा रहेको बेला चलचित्रको बजार कसरी राम्रो बनाउनु पर्छ भन्ने कुरामा ध्यान दिन छोडेर यसरी नेपाली चलचित्र माथी राजनिती गर्नु दु:खको कुरा रहेको उनीहरूको भनाई छ । 

No comments:

Post a Comment