Sunday, January 9, 2011

दिलमायाको 'छुट्छ कि साथ...

SOURCE-फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २५, आईतवार


कुनै पनि चलचित्र राम्रो बन्नुमा गीतसंगीतको पनि मह्त्वपूर्ण हात रहन्छ । चलचित्रमा प्रयोग गरिने गीतसंगीत जति राम्रो भयो त्यसले चलचित्रको प्रचारप्रसारमा त्यतिनै महत्वपूर्ण भुमिका पनि खेलेको हुन्छ । पछिल्लो समयमा फस्टाउँदै गएको कलर रिङ्ग ब्याक टोन यसको जल्दोबल्दो उदाहरणको रूपमा रहेको छ ।

बिभिन्न दूरसञ्चार प्रदायक संस्थाहरूले प्रदान गरेको रिङ्ग ब्याक टोनले अहिले गितसंगीतका स्रस्टाहरूलाई निकै सहयोग पुर्‍याएको छ । यसको प्रत्यक्ष असर नेपाली चलचित्र उधोगलाई परेको छ । 'कहाँ भेटिएला', 'नाई नभन्नु ल', टक्कर दुई मुटुको' लगायतका चलचित्र का गीत निकै चर्चित भए र निर्माताले सिआरबिटीबाट पैसा पनि मज्जाले कमाए । पछिल्लो चरणमा एलिजा रिजालको निर्माणमा बनेको चलचित्र 'दिलमाया' को 'छुट्छ कि साथ...' बोलको गीत अहिले निकै चर्चित छ ।

माघ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'दिलमाया' को उक्त गीतको सिआरबिटीबाट उठेको रकम नै निर्माता रिजालले आफ्नो चलचित्रको प्रचारप्रसारमा खर्च गरेकी छिन् । उनी भन्छिन्, 'सिआरबिटीबाट उठेको रकमले मलाई पब्लिसिटी गर्न धेरै मद्दत गरेको छ ।' अहिले सो गीतको सिआरबिटी करिब ८४ हजार पटक डाउनलोड भईसकेको छ । नेपाल टेलिकम अन्तर्गत नै उक्त गीत करिब ५४ हजार पटक डाउनलोड भईसकेको छ भने एनसेलमा पनि करिब करिब ३० हजार पटक सो गीत डाउनलोड भईसकेको चलचित्रका निर्देशक राजु गिरीले बताए ।

युवासंगीतकार अर्जुन पोखरेलले चलचित्रमा पहिलो पटक संगीतबद्व गरेको सो गीतमा दुर्गा खरेलले स्वर दिएकी छिन् । जसलाई अमृत रेग्मीले लेखेका हुन् । आफूले पहिलो पटक संगीत भरेको सो गीतले निकै चर्चा पाएपछि संगीतकार पोखरेल अहिले निकै खुसी छन् । उनी भन्छन्, 'यो सबै संगीतप्रेमी स्रोताहरूले दिनुभएको माया हो ।' आशा गरौं चलचित्रको गीतले जसरी चर्चा पाएको छ माघ १४ गतेपछि चलचित्रले पनि त्यत्तिकै चर्चा पाओस् ।

No comments:

Post a Comment