Wednesday, January 19, 2011

मास्केको श्रद्धाञ्जलीमा राज्यको चासो

अनुप भट्टराई, काठमाण्डौ, २०६७ माघ ५, बुधवार


८३ बर्षको उमेरमा मंगलबार राति स्वर्गारोहण भएकी बरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केको निधन प्रति राज्यले केही चासो व्यक्त  गरेको छ ।

 चलचित्र कलाकार संघको नेतृत्वमा बुधबार काठमाण्डौको कमलादी स्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री माधव कुमार नेपाल, गृह मन्त्री भीम रावल, सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल, संस्कृति मन्त्री मिनेन्द्र रिजाल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, प्रवक्ता अर्जुन नरसिहं केसी, प्रकाश मान सिहं तथा एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मास्केको निधन प्रति गहिरो दुःख व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली अर्पण गरिसकेपछी प्रधानमन्त्री माधव कुमार नेपालले राज्यले मास्केलाई उचित मूल्याकंन गर्ने बताए । अन्य नेताहरूले  प्रज्ञा प्रतिष्ठानमा मास्के प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए भने माओवादी उपाध्यक्ष श्रेष्ठले पशुपति आर्यघाटमै  पुगी मास्के प्रति श्रद्धाञ्जली अर्पण  गरेका थिए । मास्केको पार्थिव शरिरलाई चलचित्र कलाकारसंघले आफ्नो झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिएको थियो ।

२०२३ सालमा चलचित्र हिजो आज भोली बाट अभिनय यात्रा सुरू गरेकी मास्केको भैसेपाटी स्थित नातिनी तथा छोरी निवासमा मंगलबार राति १० बजेर ४० मिनेट जाँदा निधन भएको हो । उनको कोखबाट सन्तान नभएपछी सौताको छोराको छोरीलाई अर्थात नातिनी लतिका प्रधानलाई उनले छोरी बनाएका थिइन् । जस अनुरूप नातिनी छोरीसँग उनी बस्दै आएकी थिईन् । निधन भए पश्चात छातिमा राखिएको पेसमेकर निकाल्न उनलाई बाँसबारी स्थित सहित  गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा पुर्‍याइएको थियो । मुख्य चरित्र अभिनेत्री भएर काम गरेकी मास्के दुई दशक अघि सन्तान चलचित्रको छायाङ्कनमा दुर्घटनामा परेपछी छातीमा राखिएको 'पेसमेकर'  को साहयताले  रक्त सञ्चार गर्ने गर्थिन् ।


यस्तै विभिन्न चलचित्रकर्मीहरूले पनि मास्केको निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए । चलन चल्तीका नायक नायिकाको निकै निकै कम उपस्थिति देखिएको श्रद्धाञ्जली सभामा नायकहरूबाट धिरेन शाक्य, श्रीकृष्ण श्रेष्ठ तथा  दीलिप रायमाझीको मात्र उपस्थिति देखिएको थियो । मृत्यु अगावै आँखा दान गर्ने निर्णय गरेकी मास्केको आँखा समेत दान गरिएको छ । आँखा बैकंबाट आएका चिकित्सकले श्रद्धाञ्जली कार्यक्रमबाटै उनको आँखा संकलन गरी लगेका छन् ।

यस्तै स्वर्गीय मास्केको सहयात्रीहरूहरू  भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द चन्द ठकुरी, लगायतले भाव विहोल हुदै श्रद्धाञ्जली ब्यक्त गरेका थिए । बुधबार मध्यान्न ठीक साढे एक बजे मास्केको पशुपति आर्यघाटमा  अन्त्यष्टी समेत गरिएको छ । उनलाई सौताको दुई छोरा मध्येका एक नारयण मास्केले दागबत्ती दिएका थिए । 

२०११ सालमा धरानका वीरबहादुर मास्केको तेस्रो श्रीमतीको रूपमा भित्रिएकी मास्केको श्रीमानको २०३४ सालमा निधन भएको थियो । त्यसपछी दुःखका  दिन सुरू  भएको उनको  जीवनमा छोरी बनाइएकी नातिनी लतिकाकाको साहाराको रूपमा थिईन् ।

नेपाली चलचित्रमा 'हात्ती छाप चप्पल र हात्ती उस्तै उस्तै' भन्ने सूत्र शान्ति मास्केको हकमा लागू हुन्छ ।  उनले करिब चार दर्जन चलचित्रमा चरित्र अभिनेत्री भएर सफल पूर्वक काम गरिसकेकी छिन् ।  उनी अचम्मकी कलाकार पनि थिईन् । रूने सिनमा कहिले पनि उनलाई नक्कली आशुको आवश्यक्ता  पर्दैन थियो । उनी साच्चिकै आँखाबाट आशु झार्न सक्ने कलाकार हुन् ।  यस्तै  सुटिङ्गको खाना उनी कहिलै खादिनन् थिईन् । स्वर्गीय मास्के चलचित्र कलाकारसंघको संस्थापक संयोजक पनि हुन् । पछिल्लो चरणमा चलचित्र विकास बोर्डमा उनी सल्लाहकार पदमा समेत क्रियाशिल थिईन् ।  कलकार भएर अभावै -अभावमा संसार त्यागिसकेकी अभिनेत्री मास्के आखिर जीवनका सङ्घर्षशील पक्षहरूलाई अभिनय मार्फत् दर्शक समक्ष  पस्कन  सफल 'आइडल' हुन भन्नेमा सायद कसैको विमती छैन ।

कान्छी, जीवनरेखा, सिन्दुर, सन्तान जस्ता दर्शकले ज्यादै मन पराएका चलचित्रको लोक प्रियतामा शान्तिको 'अंश' कति छ ? त्यसको लेखाजोखा नेपाली चलचित्रको इतिहास लेख्नेहरूले गर्छन् या गर्दैनन् थाहा छैन । अलविदा मास्के.......

No comments:

Post a Comment